काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ११ लाख ७० हजार रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने ३६ वर्षीय पदमबहादुर भुजेल र झापाको बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४१ वर्षीय कात्र्तिकलाल राजवंशी रहेका छन् ।
वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै कोइरालाले एक जनाबाट एक लाख, सर्बिया पठाइदिने भन्दै भुजेलले एक जनाबाट तीन लाख र अल्बानिया पठाइदिने भन्दै राजवंशीले एक जनाबाट सात लाख ७० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
तीनै जनालाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।