काठमाडौँ । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो ।
मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उत्साहित भएको माओवादीको आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो । बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर ‘राम्रो’ भएको निष्कर्ष निकालेको छ ।
कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भए पनि त्यसलाई पनि जितकै रुपमा लिएर उत्साहित भएको माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताए । पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने उनले जानकारी दिए ।