काठमाडौँ । साउदी अरबले दुई महिनाका लागि ‘हुरुब’ हटाएको छ । योसँगै साउदीमा अवैध रूपमा रहेका नेपालीलगायत आप्रवासी कामदारलाई वैध हुने बाटो खुलेको छ । साउदीले दुई महिनाका निम्ति हुरुब हटाएपछि रियादस्थित नेपाली दूतावासले सूचना जारी गर्दै अवैध रहेका नेपाली कामदारलाई वैध बन्न आग्रह गरेको छ ।
साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना प्रकाशित गरी दुई महिनाका निम्ति हुरुब हटाइएको जनाएको छ । साउदीले सन् २०२४ डिसेम्बर १ देखि २०२५ जनवरी २९ सम्म (मंसिर १६ देखि माघ १६ गतेसम्म) ६० दिनको अवधिमा हुरुब हटाई अवैध कामदारलाई नयाँ कम्पनीमा जाने अवसर प्रदान गरेको हो ।
साउदी बोलीचालीको भाषामा ‘हुरुब’ भन्नाले कम्पनीले कामदार कम्पनीमा अनुपस्थित रहेको भनी अनलाइन सिस्टममा ‘रिपोर्ट’ गरेको अवस्था हो । हुरुब हटाई नयाँ कम्पनीमा जानका निम्ति ‘किवा’मा खाता खोलेको हुनुपर्छ । नयाँ कम्पनीबाट किवामा ट्रान्सफरका निम्ति रोजगार सम्झौतासहितको अनुरोध गर्नुपर्छ । किवामा लगइन गरेपछि कामदारले १० दिनभित्र अध्ययन गरी नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता स्वीकार गर्नुपर्छ । यो कार्य २०२५ जनवरी २९ भित्र गरिसक्नुपर्नेछ ।