काठमाडौँ । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकालगायत मुलुकका अधिकांश भागमा मौसम बदली भई चिसो बढेको छ । पश्चिमी न्यून चापीय वायुको कारण काठमाडौं उपत्यकालगायत देशभर सोमबारदेखि चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
वर्षा र हिमपातका कारणले अहिले न्यूनतम तापक्रम बढेको र अधिकतम तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको उनले जानकारी दिइन् । मंगलबार र बुधबार दिउँसोसम्मलाई पश्चिमी वायु प्रणालीले वर्षा र हिमपात गराउने सम्भावना रहेको र साँझबाट मौसममा अलिक सुधार भए पनि यो साताभर घाम लाग्ने सम्भावना कम रहेको उनले जानकारी दिइन् ।
महाशाखाले यसपालि प्रक्षेपण गरेअनुसार जाडो महिनामा तापक्रम औसतभन्दा बढी हुने र वर्षा औसतभन्दा कम हुनेछ । यसैगरी यो साताभर घाम लाग्ने सम्भावना कम रहेको र मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।