काठमाडौ । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोमबार जिल्ला अदालत मोरङले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
पोखरेलले एमबिबिएस पढाउन नाम निकालिदिने भन्दै ३० लाख ८० हजार रुपैयाँ असुल गरेको आरोप छ। उक्त आरोपबारे जिल्ला प्रहरी कार्यालय मोरङले ठगी तथा आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान सुरू गरेको डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
पोखरेल सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव थिए। पैसा लिएको घटना सार्वजनिक भएपछि स्वकीय सचिवबाट हटाइएको थियो। पोखरेलले आफ्नो पहुँच भएको भन्दै अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबिबिएस डाक्टर पढाउने आश्वासन दिएको आरोप छ।