चीनमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, एक हजारभन्दा धेरै घरमा क्षति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । अहिलेसम्म ६३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर नेपाली समय बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्