काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक परिपत्र गर्दै बैंक तथा वित्तीयलाई आगामी माघ १ देखि खाता खोल्न ग्राहकको राष्ट्रिय परिचयपत्र अनिवार्य माग गर्नु पर्ने व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका पहुँचका आधारमा ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्नेछन् ।
ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण निज ग्राहककै रहे नरहेको सुनिश्चित गर्न निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नुपर्ने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले गृह मन्त्रालयले विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा सङ्गठनको सूची वा सो सँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग आफ्नो कारोबार भए नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकिन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी संयन्त्र प्रयोग गर्नुपर्नेछ । त्यसैगरी २०८१ माघ १ सम्ममा संस्थाले सबै उच्च पदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।