काठमाडौँ । पाल्पामा एक वृद्ध महिलाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ परेकी छन्। रिब्दीकोट गाउँपालिका ५ कुसुमखोलाकी ७८ वर्षीया भूम कुमारी आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए।
२०७९ असार ३१ गते रिब्दीकोट गाउँपालिका ५ माराबासस्थित हर्रेखरक सामुदायिक वनमा आले मृत फेला परेकी थिइन्। घटनाको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको थियो।
हत्याका अभियुक्त लम्तरीलाई गएको शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो। आफन्तले दिएको किटानी जाहेरीमा निरन्तरको अनुसन्धान गरेपछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको एसपी चन्दले बताए।
सामुदायिक वनबाट ल्याएको दाउराको विषयमा दुई जनाबीच झगडा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।