Skip to content

पृथ्वीराजमार्ग अवरुद्ध भए पनि काठमाडौँमा अत्यावश्यक सामग्री अभाव नहुने

कालोपाटी

११ मिनेट अगाडि

काठमाडौँ। काठमाडौँ जोड्ने मुख्य सडक नागढुंगा–मुग्लिन खण्डको कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाण्डौ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन । काठमाण्डौ उपत्यकामा वैकल्पिक सडकबाट खाद्यवस्तु आपूर्ति गरिने व्यवस्था भैसकेको मन्त्रालयको भनाइ छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ । निगमका अनुसार अमलेखगञ्ज डिपोमा पाइपलाइनमार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाण्डौमा पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ । यस्तै, खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ । मालसामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ ।

ठूला गाडीलाई नौबिसे–पालुङ–भैँसे तथा साना गाडी तथा माइक्रोबसका लागि फर्पिङतर्फको वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । पश्चिम नेपालबाट काठमाण्डौ आउने गाडीका लागि गोरखा सदरमुकाम हुँदै बुंकोट–नाम्जुङ–घैरुङ–दुर्वुङ–सिउरेनीटार हुँदै बेनीघाट जोडिने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ ।

अर्को विकल्प गोरखा–नाम्जुङ–बुंकोटघाट हुँदै बेनीघाट निस्कने मार्ग हो । यो मार्ग विशेषगरी पोखरा, गोरखा र पश्चिमतर्फबाट काठमाण्डौ ओहोरदोहोर गर्ने गाडीका लागि उपयोगी हुने देखिएको छ । त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि हिजो कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार