Skip to content

चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भैरहेको विभागको दाबी

कालोपाटी

२६ मिनेट अगाडि

काठमाण्डौ । मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भैरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको दाबी गरेको छ ।

वाणिज्य विभागका महानिर्देशक रितेशकुमार शाक्यले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउनुभयो । उहाँकाअनुसार काठमाण्डौ उपत्यकामा नियमित अनुगमन टोलीबाहेक मन्त्रालय र मातहतका निकायबाट ५० जना थप कर्मचारी परिचालन गरिएको छ ।

उहाँकाअनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकायसमेत परिचालन भएका छन् । उपभोक्ता संरक्षण ऐनअन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौज्दातबारे जानकारी लिइएको छ । मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको जनाएको छ । महानिर्देशक शाक्यका अनुसार उपभोक्ता आफैँ पनि सचेत हुनुपर्छ ।

बजारमा ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा विभागको हटलाइन, सूचना अधिकारी, सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’मार्फत उजुरी गर्न सकिने उहाँले बताउनुभयो ।

विभागले उजुरीका आधारमा तत्काल अनुगमन गर्न पनि टोली परिचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार