काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना भएको छ । मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले मंगलबारदेखि स्तनपानकक्ष सञ्चालनमा ल्याएको हो ।
उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गरेकी छिन् । स्तनपान कक्षले देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले जानकारी दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपानकक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत स्थानमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखेशिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका बताएकी छिन् ।