काठमाडौँ । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकी थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्ने इच्छा थियो । दुर्भाग्य सञ्जिताले श्रीमान्को जन्मथलो त टेकिन् । तर, त्यो बाटो अब कहिल्यै फर्किने छैनन् ।
शनिबार बागलुङको ढोरपाटन नगरपालिका-५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका-५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाएकी छिन् । दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् । ढोरपाटन नगरपालिका-४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका-५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागिन् । दीपक पहिलेदेखि नै बेलायतमा बस्थे । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन् । काठमाडौँमै बिहे भयो । उतैबाट बेलायत लागे । बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आएका हुन् । करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौँ बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे । दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनिन्, ‘घर जाने कर गरेकै उसैले हो । उसैले छाडेर गई ।’
सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको मनकुमारीले बताएकी छिन् । गत पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौँ पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन् । सालझण्डी-ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका-५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमान्को गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन-४ खुङ्गाका तिलक घर्तीकोसमेत ज्यान गएको हो । सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आउनुभएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिएका छन् । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताएका छन् ।