काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो ।
रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो । यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो । अझै पनि यात्रुको चाप अत्याधिक नै भएकाकारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन् । यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुन:सम्झौता गर्ने तयारी गरिएको उनले बताएका छन् ।
रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट ८ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।