काठमाडौँ । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु ४ अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २ अर्ब ९३ करोड ११ लाख ७६ हजार राजस्व सङ्कलन भएको जनाइएको हो ।
उक्त कार्यालयले चालु आर्थिक वर्षमा रु ८ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार विगत छ महिनामा आयकरतर्फ रु ४८ करोड छयासी लाख ६७ हजार, घरभाडा करतर्फ रु ७८ लाख ९२ हजार, ब्याज करतर्फ रु ४ करोड ५ लाख ८१ हजार, आन्तरिक करतर्फ रु ४९ करोड ९० लाख ६८ हजार, अन्त:शुल्क करतर्फ रु १ अर्ब ६१ करोड ४८ लाख २७ हजार तथा स्वास्थ्यसेवा करतर्फ रु २८ करोड १ लाख ४१ हजार राजस्व सङ्कलन भएको जनाएको छ ।
विगत छ महिनामा ३२ हजार १ सय ८६ करदातामध्ये १२ हजार ७ सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार ४ सय ६५ जनाले तिर्न बाँकी रहेको छ । आयकर नतिर्नेमा ठूला करदाता नै २ हजार ७ सय ५ जना रहेका बताइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार-व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन् ।
प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व सङ्कलन लक्ष्यको तुलनामा कम भएको बताएका छन् । कार्यालयले आर्थिक वर्ष २०७९-८०मा रु ७ अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको हो ।