काठमाडौँ । काभ्रेपलाञ्चोकमा बृहत् कृषि महोत्सव सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८०’ सोमबार सम्पन्न भएको हो ।
बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले जानकारी दिएका छन् । प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल गाउँपालिकाले कृषिजन्य वस्तुको प्रदर्शनी गरेका थिए ।
यस्तै, महोत्वस अवलोकन गर्नका लागि विभिन्न ३५ जिल्लाका जनप्रतिनिधि सहभागी भएको प्रमुख गौतमले बताएका छन् । किसानका समस्यादेखि उनीहरूले उत्पादन गरेका वस्तुको बिक्री र प्रदर्शनीले राम्रो प्रचार पाएको भन्दै उनले अब जिल्लाले नै कृषिमा फड्को मार्ने आशा व्यक्त गरेका छन् । ‘अब जिल्लाका किसानले पनि मल नपाउने समस्याबाट मुक्त हुनेछन्’, उनले भने, ‘महोत्सवले प्रत्येक पालिकामा हाटबजार चलाउन पालिकालाई महोत्सवले दबाब दिनेछ ।’
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले जिल्लाका सबै पालिका र सरकारी कार्यालयसँगको समन्वयमा महोत्सव भव्यरूपमा सम्पन्न भएको जनाएका छन् । सो क्रममा उनले महोत्सवले किसानको समस्या र उनीहरूको उत्पादनको बजारीकरणका लागि बहस गर्ने र पैरवी गर्ने थलोका रूपमा विकास गरेको बताएका छन् । महोत्सवमा २ सयवटा कृषिसँग सम्बन्धित प्रदर्शनी कक्ष राखिएको थियो ।