काठमाडौं । ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन् । शुक्रबार संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा ग्रीनल्याण्डको भविष्य ग्रीनल्याण्डवासीहरूले नै तय गर्नुपर्ने उल्लेख गरिएको छ ।
डेनमार्कको सरकारी प्रसारक डीआरका अनुसार संयुक्त वक्तव्यमा ग्रीनल्याण्डका दल नेताहरूले संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्डप्रति देखाउँदै आएको असम्मानजनक व्यवहार अन्त्य हुनुपर्ने माग गरेका छन् ।
“हामी, ग्रीनल्याण्डका राजनीतिक दलका नेताहरू, संयुक्त राज्य अमेरिकाले हाम्रो देशप्रति देखाउँदै आएको बेवास्ता अब अन्त्य हुनुपर्छ भन्ने चाहना पुनः व्यक्त गर्दछौं,” वक्तव्यमा भनिएको छ ।
दल नेताहरूले ग्रीनल्याण्डले आगामी दिनमा पनि अमेरिका तथा अन्य पश्चिमी मुलुकहरूसँग सहकार्य जारी राख्ने स्पष्ट पारेका छन् । तर ग्रीनल्याण्डको भविष्यसम्बन्धी कुनै पनि निर्णय अन्तर्राष्ट्रिय कानुन र आत्म–शासन ऐनको आधारमा, ग्रीनल्याण्डवासीहरूसँग छलफल र सहमतिमै हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् । संयुक्त वक्तव्यमा ग्रीनल्याण्डको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले हस्ताक्षर गरेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ग्रीनल्याण्ड अमेरिकाले प्राप्त गर्ने विषयमा “सजिलो वा गाह्रो जुनसुकै तरिकाले पनि सम्झौता हुनेछ” भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले ग्रीनल्याण्डका जनताको चाहना भए–नभए पनि यस विषयमा आफूले केही गर्ने बताएका छन् ।
ग्रीनल्याण्ड डेनमार्कको पूर्व उपनिवेश हो । सन् १९५३ मा यो डेनमार्कको राज्यको अभिन्न हिस्सा बनेको थियो भने सन् १९७९ मा आत्म–शासन अधिकार प्राप्त गरेको हो । यद्यपि, परराष्ट्र नीति र रक्षा सम्बन्धी अधिकार भने डेनमार्ककै मातहतमा छन् । हाल ग्रीनल्याण्डमा अमेरिकाको एक सैन्य आधारसमेत रहेको छ ।
जनवरी २०२५ मा पदभार सम्हालेपछि राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्ड नियन्त्रणमा लिने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन् । उनले यसका लागि सैन्य वा आर्थिक दबाब प्रयोग गर्न सक्ने सम्भावनालाई समेत अस्वीकार गरेका छैनन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्