Skip to content

आज पश्चिम नेपालमा वर्षा र हिमपात, स्वास्थ्य र सतर्कतामा ध्यान दिन सुझाव

कालोपाटी

५ दिन अगाडि

 काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज पश्चिमी नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद डेभिड ढकालका अनुसार आज दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु हुने छ। साँझतिर सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सुरु हुने अनुमान गरिएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै क्षेत्रहरूमा मेघ गर्जनसहित मध्यम वर्षा हुने संभावना छ।

ढकालका अनुसार, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित असिना पनि पर्न सक्ने सम्भावना छ।

शुक्रबार राति भने देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मध्यमसम्मको हिमपात हुने अनुमान गरिएको छ। मौसममा बदलीको प्रभावले चिसोपन बढ्ने भएकाले नागरिकहरूले स्वास्थ्यको विशेष ख्याल गर्न मौसमविदहरूले सुझाव दिएका छन्।

वर्षा र हिमपातले जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पार्न सक्ने भएकाले सतर्क रहन आवश्यक छ। मौसमविदहरूले हिउँपानी र वर्षाले कृषिका लागि पनि फाइदा पुर्‍याउने बताए। कृषि विज्ञहरूले लामो खडेरीपछिको यो वर्षा र हिमपातले बालीनालीमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

माघ ९ गतेको यो वर्षाको घटनालाई यस वर्षको हिउँदयामको पहिलो माघे झरीको रूपमा पनि लिइएको छ। शनिबार मौसममा केही सुधार हुने अनुमान गरिएको छ, तर बदलीको प्रभाव देशभर जारी रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार