Skip to content

चुनाव प्रचारमा सागर ढकालले देखाए २६२५ रुपैयाँको बिल, माछामासु नखाने घोषणा

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौं  । गुल्मी-१ बाट रास्वपा उम्मेदवार सागर ढकालले आफ्नो चुनावी अभियानमा माछामासु नखाने घोषणा गरेका छन्। उनले एक रातको होटल खर्च २६२५ रुपैयाँ भएको बिल सार्वजनिक गर्दै छोटो, साधारण जीवनशैलीमा चुनाव लड्ने संकेत दिएका हुन्।

ढकाल हिजो बेलुका गुल्मीको मालिका गाउँपालिकास्थित सिमलटारी पुगेका थिए। यो स्थान क्षेत्र नम्बर २ मा पर्छ, जहाँ रास्वपाबाट गोविन्द पन्थि उम्मेदवार छन्। ढकाल र पन्थीसहित ६ जनाको टोली सिता होटल एन्ड रेस्टुरेन्टमा बास बसेको थियो।

आज बिहान ढकालले भिडियो पोस्ट गर्दै एक रातको खर्चबारे विवरण सार्वजनिक गरे। उनले बताए कि ६ जनाको टोलीले पूर्ण शाकाहारी खाना खाएको छ। बिल अनुसार, ६ जनाले दुई सय रुपैयाँ दरको खाना खाँदा १२ सय खर्च भएको थियो। ४ सय रुपैयाँ दरका ३ वटा कोठा पनि १२ सयमै तिरेका थिए। यस्तै, ६ जनाले २२५ रुपैयाँको चिया र खाजा खाएका छन्।

ढकालले गाडी भाडामा लिएर प्रचारमा हिँड्दा दैनिक ३–४ हजार खर्च हुने र कसैलाई तेल नबाँडिएको बताए। उनले रास्वपाका सबै उम्मेदवारलाई माछा–मासु र रक्सी नखान र तेल नबाँड्न सुझाव दिएका छन्। ढकालले भने,“हामी माछा–मासु र रक्सी केही पनि खाँदैनौं। तपाईंहरूले पनि यसो गर्नु भयो भने सादगीको माध्यमबाट चुनाव जित्न सकिन्छ।”

साथै, ढकालले आफुसँगै हिँडेका पन्थीलाई आज बिहान चार पटक ‘उठबस’ गराएको जानकारी दिए। पन्थी निर्धारित समयभन्दा चार मिनेट ढिला भएर गाडीमा चढेका थिए। ढकालका अनुसार,“सात बजे गाडी चढ्ने भनिएकोमा उहाँ चार मिनेट ढिला गर्नुभयो, त्यसैले चारपटक उठबस गराए। पन्थीले पनि यो स्वीकार गरेका छन्।”

पन्थी पूर्वडिएसपी र अधिवक्ता हुन्। ढकालले यसपटक गुल्मीमा रास्वपाले क्लिन स्वीप गर्ने दाबी गर्दै आफ्नो प्रतिस्पर्धा मुख्यतः झापा र चितवनसँग रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार