Skip to content

६० केजी सुन तस्करी प्रकरण : पुर्पक्षका लागि थुनामा रहेका चार जना आदेश बदरको माग राख्दै सर्वोच्च पुगे

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार जना प्रतिवादीले जिल्ला र उच्च अदालतको आदेश बदरको माग राख्दै सर्वोच्च अदालत पुगेका छन्।

उनीहरू हुन्: भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल, मनोजराज श्रेष्ठ, र चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा (गेङ्गा शाशी), मिङ सिङ टेरेन्स सी।

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि चारै जनाले उच्च अदालतमा अपील गरेका थिए। पाटन उच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेपछि उनीहरू सर्वोच्च पुगेका हुन्।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा चारै जनाको निवेदन एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ।

उनीहरूलाई पक्राउ गर्न सिआइबीले गरेको दोस्रो चरणको अनुसन्धानले मुख्य भूमिका खेलेको थियो। अनुसन्धानअनुसार, चीनबाट स्कूटरको ब्रेक भित्र सुन तस्करीको प्रयास गरिएको थियो।

चिनियाँ नागरिक गेङ्गा शाशी (कुङ्गा टासी शेर्पा) ले नेपाली नागरिकता लिएको देखिन्छ। सोही नाममा सवारीचालक अनुमतिपत्र पनि जारी भएको थियो। उनको सवारीचालक लाइसेन्समा बुबाको नाम आङ नोर्बु शेर्पा लेखिएको छ।

सिआइबीले अर्का चिनियाँ नागरिक शेरब ग्याल्मोलाई ६ केजी सुन र ४८ लाख रुपैयाँसहित बौद्ध तीनचुलीबाट पक्राउ गरेको थियो। उनीसँग पनि नेपाली नागरिकता फेला परेको थियो। यस्तै, सोनाम गुरुङको नाममा जारी भएको नागरिकता मुस्ताङको लोमान्थाङबाट जारी गरिएको थियो।

यो प्रकरणले चीन–नेपाल सीमा हुँदै सुन तस्करीमा प्रतिवादीहरूको संलग्नता उजागर गरेको छ र उच्च सुरक्षा तथा कानुनी प्रक्रियाको आवश्यकता देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार