Skip to content

नक्कली भुटानी शरणार्थी प्रकरण : काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

कालोपाटी

३ दिन अगाडि

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दा काठमाडौँ जिल्ला अदालतमा सुनुवाइका लागि अघि बढेको छ। सुनुवाइ जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने भएको हो।

अभियोगपत्रअनुसार, संगठित गिरोहले नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी गरिएको छ। करिब साढे २ वर्षपछि अदालतले अन्तिम सुनुवाइ गर्न लागेको हो।

मुद्दा १० जेठ २०८० मा दायर भएको थियो, जसमा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दायर भएको थियो।

पछि केशव दुलालसहित ५ जना र अर्का संलग्न व्यक्ति बेचन झा विरुद्ध पूरक अभियोगपत्र दायर भएको थियो। थुनछेक बहस/आदेशबाहेक तीनवटै मुद्दालाई लगाउमा राखेर सुनुवाइ भइरहेको छ।

अदालतले अनुपस्थित भएका साक्षीहरूलाई बकपत्र गराइसकेको छ। प्रारम्भिक सुनुवाइमा केही अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष अगाडि बढाइएको थियो भने केही अभियुक्त उच्च अदालतबाट धरौटीमा छुटेका छन्।

यस प्रकरणमा मुख्य प्रतिवादीहरूमध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरज राई लगायत रहेका छन्।

यस प्रकरणमा मुख्य बिचौलियाद्वय केशव दुलाल र उनकी पत्नी दीपा हुमागाईं, अन्य बिचौलिया सानु भण्डारी, सन्देश शर्मा लगायत गिरोहको नेटवर्कमा रहेर काम गर्ने २ दर्जन बढी व्यक्तिहरू विरुद्ध मुद्दा विचाराधीन छ।

मुद्दा दायर हुँदा पक्राउ परेका १८ मध्ये २ जनालाई धरौटी र १६ जनालाई थुनामा राखेर पुर्पक्ष अगाडि बढाइएको थियो। फरार रहेका १२ जनामध्ये केही पक्राउ परे पनि अझै केही फरार छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार