Skip to content

निर्वाचन प्रहरीमा दोस्रो पटक म्याद थप्दा ४९३ को आवेदन

कालोपाटी

१० घण्टा अगाडि

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीको मागअनुसार पर्याप्त आवेदन नपरेपछि दोस्रो पटक म्याद थपिएको छ । दोस्रो पटक थपिएको म्यादमा ४ सय ९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार जिल्लामा निर्वाचन सुरक्षाका लागि जम्मा १ हजार ८५ जना निर्वाचन प्रहरी आवश्यक रहेको छ । यसका लागि पहिलो चरणमा गत पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिएको थियो । तर तोकिएको अवधिमा कोटाअनुसार आवेदन नपरेपछि पहिलो पटक माघ ३ गतेसम्म म्याद थप गरिएको थियो ।

पहिलो पटक थपिएको अवधिसम्म १ हजार १८ जनाको मात्र निवेदन परेको थियो । निवेदन परेकामध्ये सबै छनोट भए पनि ६७ जना अपुग हुने अवस्था देखिएको थियो । त्यसमाथि निवेदन दिएका केही व्यक्ति सम्पर्कमा नआएपछि करिब १ सयभन्दा बढी निर्वाचन प्रहरी अभाव हुने अवस्था आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मागअनुसार आवश्यक संख्या पूरा गर्न नसकेपछि पुनः दोस्रो पटक माघ १० र ११ गते आवेदन दिने गरी सूचना जारी गरिएको थियो । दोस्रो पटक जारी गरिएको सूचनामा ४ सय ९३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी इन्सपेक्टर किशोर तामाङले जानकारी दिए ।

दोस्रो पटक म्याद थपिएपछि मागभन्दा बढी आवेदन परेकाले सोमबारदेखि छनोट प्रक्रिया सुरु गरिएको तामाङले बताए । उनका अनुसार आवश्यक मापदण्ड पूरा गरेका उम्मेदवारलाई छनोट गरी निर्वाचन सुरक्षामा परिचालन गरिनेछ ।

निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ, इलाका प्रहरी कार्यालय छिन्ताङ तथा इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट दरखास्त संकलन गरिएको थियो । निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्वाचन प्रहरीको छनोट प्रक्रिया तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार