Skip to content

इरानको विद्यालयमा मारिएका १६० भन्दा बढीको सामूहिक अन्त्येष्टि

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । इरानको दक्षिणी सहर मिनाबमा गत शनिबार एउटा विद्यालयमा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थी र शिक्षकहरूको सामूहिक अन्त्येष्टि गरिएको छ। इरानको सैन्य अखडा र नेतृत्वलाई लक्षित गरी गरिएका शृङ्खलाबद्ध प्रहारका क्रममा उक्त विद्यालयमा पनि क्षति पुगेको बताइएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा १६० भन्दा बढीको ज्यान गएको छ। मिनाबमा रहेको उक्त विद्यालय इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को सैन्य शिविरबाट करिब ६०० मिटरको दूरीमा अवस्थित थियो। शनिबार इरानमा कार्यदिन हुने भएकाले विद्यालयमा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको समयमा तीनवटा क्षेप्यास्त्रले भवनलाई ध्वस्त पारेको दाबी गरिएको छ।

सरकारी टेलिभिजनमा प्रसारित दृश्यहरूमा हजारौँ शोकाकुल मानिसहरू सडकमा उत्रिएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिरहेको देखिन्थ्यो। इरानको राष्ट्रिय झण्डा ओढाइएका साना बाकसहरूलाई भीडको बिचबाट लैजाँदै गर्दा त्यहाँको वातावरण अत्यन्तै मार्मिक बनेको थियो।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यस घटनालाई बर्बरतापूर्ण भन्दै आक्रमणकारीहरूको अभिलेखमा अर्को एउटा कालो पाना थपिएको टिप्पणी गरेका छन्। यता इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सामूहिक चिहान खनिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्धारको नाममा गरेको वास्तविकता यही भएको भन्दै कडा आलोचना गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इरान भ्रमणमा भिसाको कठिनाइ हुने भएकाले मृत्युको यकिन सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि हुन नसके पनि बीबीसीले घटनास्थलका केही भिडियो फुटेजहरू प्रमाणित गरेको छ, जसमा विस्फोटपछि धुवाँको मुस्लो र मानिसहरूको चित्कार सुनिन्छ।

यस संवेदनशील घटनाप्रति प्रतिक्रिया दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले कहिल्यै पनि जानाजानी विद्यालयलाई निशाना नबनाउने स्पष्ट पारेका छन्। उनले नागरिक पूर्वाधारमा आक्रमण गर्नु अमेरिकाको कुनै रुचि वा स्वार्थको विषय नभएको दाबी गरे।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले भने यो घटनालाई गम्भीरतापूर्वक लिएको र यसबारे थप बुझ्ने काम भइरहेको जनाएको छ। इजरायली सेनाले भने उक्त क्षेत्रमा आफ्नो कुनै पनि सैन्य अपरेसनबारे जानकारी नभएको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार