Skip to content

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको भैंसेपाटीमा सरकारी मन्त्री निवासको अवस्था (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । तर नयाँ सरकार गठन भए पनि मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था तत्काल सहज नहुने देखिएको छ ।

ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास परिसर भाद्र २४ गते भएको तोडफोड, लुटपाट र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीहरूका लागि बसोबासको समस्या देखिएको हो । करिब एक अर्ब ३४ करोड रुपियाँ खर्चेर निर्माण गरिएको उक्त आधुनिक आवास क्षेत्र प्रयोगमा आएको एक वर्षमै क्षतिग्रस्त भएको छ ।

सिंहदरबार संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका
अनुसार हालको अवस्थामा उक्त परिसरमा बस्न मिल्ने अवस्था छैन । त्यसैले नयाँ सरकारका मन्त्रीहरूका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिने योजना बनाइएको जानकारी दिएको छ । काठमाडौँ उपत्यकामा आफ्नै घर भएका मन्त्रीले आफ्नै घरमा बस्न सक्ने तथा अन्य मन्त्रीका लागि आवश्यक परे भाडामा घर लिएर बसोबासको व्यवस्था मिलाइने जनाइएको छ ।

क्षतिग्रस्त मन्त्री निवास पुनर्निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । २७ वटा भवन रहेको परिसरमा धेरै क्षति पुगेका केही भवनको अध्ययन गरी पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । प्राविधिक तथा आर्थिक मूल्याङ्कनपछि योग्य निर्माण कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने योजना छ ।सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्म पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार