Skip to content

इन्धन बचाउन बुधबार सार्वजनिक बिदा दिने श्रीलंकाको घोषणा

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । इन्धन बचत गर्न श्रीलंकाले प्रत्येक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मध्यपूर्वमा जारी इरान र इजरायल–अमेरिकी द्वन्द्वको असरले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि यस्तो निर्णय गरिएको हो ।
‘हामीले सबैभन्दा खराब अवस्थाको तयारी गर्नुपर्छ, तर राम्रो हुने आशा राख्नुपर्छ,’ राष्ट्रपति अनुरा कुमार दिसानायकेले सोमबार उच्चस्तरीय आपतकालीन बैठकपछि देशलाई सम्भावित इन्धन संकटका लागि तयार रहन आग्रह गर्दै भने ।

श्रीलंकाको यो निर्णय एशियाभर देखिएको ऊर्जा संकट व्यवस्थापनको एउटा हिस्सा हो । विशेषगरी स्ट्रेट अफ हर्मुजमा अवरोध आएपछि खाडी क्षेत्रबाट एशियातर्फ जाने तेल आपूर्ति प्रभावित भएको छ । गत वर्ष मात्रै उक्त मार्गबाट जाने करिब ९० प्रतिशत तेल र ग्यास एशियाली देशहरूतर्फ गइरहेको थियो ।

ऊर्जा संकट गहिरिँदै जाँदा श्रीलंकाले मात्रै होइन एशियाका विभिन्न देशहरूले पनि इन्धन बचतका लागि कडा उपायहरू अपनाएका छन् । थाइल्यान्डमा एयर कन्डिसनरको प्रयोग कम होस् भनेर सरकारले नागरिकलाई सूट लगाउनुको सट्टा छोटा बाहुला भएका लुगा लगाउन आग्रह गरेको छ ।

म्यानमारमा निजी सवारी साधनहरूलाई लाइसेन्स प्लेटका आधारमा पालैपालो दिनमा मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । बंगलादेशले पनिे विश्वविद्यालयहरूमा रमजान बिदा अगाडि सार्दै देशभर योजनाबद्ध रूपमा लोडसेडिङ सुरु गरेको छ ।

फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीलाई हप्तामा कम्तीमा एक दिन घरबाट काम गर्न अनिवार्य गरेका छन् । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले गैर–आवश्यक सरकारी भ्रमणमा पनि प्रतिबन्ध लगाएका छन् ।

साथै, ट्राइसाइकल चालक, किसान र माछापालन व्यवसायमा संलग्न व्यक्तिहरूलाई बढ्दो इन्धन मूल्यको असर कम गर्न ३ हजारदेखि ५ हजार पेसोसम्म नगद सहायता दिने घोषणा गरिएको छ । भियतनामले नागरिकलाई सकेसम्म घरमै बस्न, साइकल चलाउन, कारपूल गर्न र सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहन दिएको छ ।

विशेषज्ञहरूका अनुसार पश्चिम एशियामा जारी द्वन्द्वका कारण तेल आपूर्ति शृंखला प्रभावित हुँदा एशियामा ऊर्जा संकट थप गहिरिने खतरा छ । तेल आयातमा अत्यधिक निर्भर एशियाली अर्थतन्त्रहरूमा यसको सीधा असर परेको छ, जसले मुद्रास्फीति, यातायात खर्च र दैनिक जीवनमा चुनौती बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार