Skip to content

राप्रपाको नाम, चुनाव चिह्न र नेतृत्व फेर्न महामन्त्रीको प्रस्ताव

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पार्टी पुनर्गठनको बहस सुरु भएको छ । फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट जितेको सो पार्टीमा चुनावी नतिजापछि पुनर्गठनको बहस सुरु भएको हो ।

महामन्त्री शरदराज पाठकले सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठनको बहस घनिभूत पार्नुपर्ने बताएका हुन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब धरमर–धरमर भएर टुपुक्क राष्ट्रिय पार्टीमात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारीररूपान्तरणकारी पार्टी बनाउने हो भने यसको तत्काल व्यापक पुनर्संरचना अत्यन्त जरुरी छ’, पाठकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक भएको पनि बताएका छन् ।

‘त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक छ’, महामन्त्री पाठकले लेखेका छन् ।

उनले राप्रपाको एजेन्डामा ठुलो समस्या नभएपनि नेताहरूको चिन्तन र कार्यशैलीमा समस्या रहेको दाबी गरेका छन् । ‘सार्वजनिक रूपमा यसरी लेख्दा म माथि तीव्र गालीगलौजसम्म हुन सक्छ, तर त्यसको प्रवाह नगरी मैले यो टिप्पणी लेखेको हुँ’, उनले भनेका छन्, ‘मेरो आग्रह–रहित मिहिन मूल्याङ्कनमा राप्रपाको एजेन्डामा खास ठुलो समस्या छैन ।

समस्या हामीहरूको चिन्तन र कार्यशैलीमा छ ।’ समस्या पार्टीभित्रका बलशाली प्रवृत्तिहरूमा रहेको भन्दै उनले समस्या आधुनिक युगको राजनीतिक आयामहरूलाई अधिकांशरूपमा बेवास्ता गरेर उल्टै हियाउनुमा रहेको बताएका छन् ।

‘यही शैली र सोचबाट अघि बढ्ने हो भने पार्टीले आउने स्थानीय तह र प्रदेश तहको निर्वाचनमा सुयोग्य र आम मतदातामा प्रभाव पार्न सक्ने उम्मेदवार भेट्न पनि मुस्किल हुनेछ, अपवाद स्थानलाई छोडेर’, पाठकको भनाइ छ । आफूले उठाएका विषयहरू पार्टीको तल्लो स्तरसम्म घनिभूत बहस आरम्भ गर्न पनि महामन्त्री पाठकले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार