Skip to content

‘नेताको घरमा भेटिएको पैसाबारे अनुसन्धान हुनुपर्छ’ : गगन थापा

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान हुनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति थापाले भेटिएको पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका हुन् ।

‘जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ,’ सभापति थापाले भने, ‘अनुसन्धान गर्ने विषय सार्वजनिक खपतको विषय मात्रै हुनुहुन्न । निष्कर्ष निकालिनुपर्छ ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका थिए।

देउवा र कांग्रेसकी तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि आन्दोलनकारीले साङ्घातिक आक्रमण गरेका थिए । आगजनीका क्रममा त्यहाँ पैसा जलेका भिडिया सार्वजनिक भएका थिए।

कांग्रेसका अर्का नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा पनि आगजनी गरिएको थियो । र, त्यहाँ पनि पैसा जलेका भिडियो सार्वजनिक भएका थिए।

सभापति थापाले अख्तियारको दुरुपयोग र नीतिगत भ्रष्टाचारका विषयमा पनि तथ्यसंगत छानबिन गरिनुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार