Skip to content

एमाले सचिवालय बैठक बस्दै, बादलको विवादित अभिव्यक्तिबारे छलफल हुने

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले विहीबारको प्रतिनिधि सभा बैठकमा गरेको सम्बोधनबारे छलफल हुने नेताहरुले बताएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत भएकाले त्यसबारे सचिवालय बैठकमा ‘गम्भीरतापूर्वक’ छलफल हुने बताएका छन् ।

एमालेको कार्यवाहक अध्यक्ष समेत रहेका थापाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए । साथै एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए ।

उनको विवादित अभिव्यक्तिप्रति नेताहरुले प्रश्न उठाएका छन् । उपाध्यक्ष पौडेलले बादलको अभिव्यक्तिबारे सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने बताएका छन् ।

सुरेन्द्र पाण्डेले भने– अरुलाई दोष देखाउने राजनीति पुरानो भयो

यसैगरी एमालेका अर्का नेता सुरेन्द्र पाण्डेले सो परिस्थिति सिर्जना हुनुमा एमाले पनि दोषी रहेको बताएका छन् । उनले एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।

बादलको नाम नलिई उनले फेसबुकमा लेखेका छन्, ‘हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो– सबै दोष अरूलाई १ हामी पनि दोषी छौं– यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र रु’

उनले ‘घेराबन्दी’मा पर्‍यौं भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भएको टिप्पणी गर्दै लेखेका छन्, ‘ अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन् ।’

उनले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न आग्रह गरेका छन् । भदौ २३ र २४ गतेको घटना छानबिन हुनुपर्ने बताउँदै उनले भनेका छन्, ‘तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार