Skip to content

फोटो खिच्ने नयाँ स्पट बन्यो ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (सात तस्विर)

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा फूलले ढकमक्क बनेको छ । सडक किनारमा फुलेका आकर्षक ज्याकरण्डा फूलले वातावरणलाई रमणीय बनाएको छ भने तस्बिर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड पनि बढ्न थालेको छ ।

फेवाताल किनार नजिक रहेको गौरीघाट क्षेत्रमा फूल फुलेसँगै बिहानदेखि साँझसम्म घुम्न आउने मानिसहरूको चहलपहल बढेको छ । विशेषगरी युवायुवती, परिवार तथा विदेशी पर्यटकहरू ज्याकरण्डाको सौन्दर्यसँग रमाउँदै फोटो तथा भिडियो खिच्न व्यस्त देखिन्छन् ।

हरेक वर्ष वैशाख–जेठ महिनामा ज्याकरण्डा फूल फुल्ने गर्छ । बैजनी रङका फूलले सडक नै रंगिएजस्तो देखिने भएकाले यो समय गौरीघाट घुम्न आउनेको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ । सामाजिक सञ्जालमा पनि गौरीघाटका तस्बिर र भिडियोहरू व्यापक रूपमा साझा हुन थालेपछि थप पर्यटक आकर्षित भएका छन् ।

पर्यटकहरूका लागि अहिले गौरीघाट फोटो स्पट’ को रूपमा परिचित बन्दै गएको छ । फेवाताल, हिमालको दृश्य र ज्याकरण्डा फूलको संयोजनले यहाँको वातावरण अझ आकर्षक बनेको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार ज्याकरण्डा फुल्ने मौसमले पोखराको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । होटल, रेस्टुरेन्ट तथा डुंगा व्यवसायमा समेत चहलपहल बढ्न थालेको उनीहरूको भनाइ छ । स्थानीय सरकारले पनि गौरीघाट क्षेत्रको सौन्दर्य संरक्षण र व्यवस्थित प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार