Skip to content

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै कम रहेको छ । महालेखापरीक्षक कार्यालयको ३३ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१र८२ मा १ हजार ९ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो ।

त्यसमध्ये ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड रुपैयाँ मात्र भित्रिएको छ । यो स्वीकृत लगानीको १४ प्रतिशत हो । सार्वजनिक प्रतिवेदनअनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ ।

आर्थिक वर्ष २०७९र८० मा स्वीकृत ३२ अर्ब ४८ करोड रुपैयाँको प्रस्तावमध्ये नौ अर्ब २० करोड रुपैयाँ प्राप्त भएको छ । यो समग्रमा २८ प्रतिशत हो । त्यस्तै आर्थिक वर्ष २०८०र८१ मा स्वीकृत भएको लगानीको जम्मा १३ प्रतिशत मात्रै प्राप्त भएको देखिन्छ । यो आर्थिक वर्षमा ८१ अर्ब ६९ करोड रुपैयाँ को लगानी स्वीकृत भएकोमा १० अर्ब २९ करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो ।

यो तथ्याङ्कले वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको विवरण फराकिलो हुँदै गएको देखाउँछ । महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन र लगानीमैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार