Skip to content

बाढीपीडितका लागि लायन्सको करोडौं सहयोग, राहतसँगै पुनर्निर्माणमा जुट्ने

कालोपाटी

५८ सेकेण्ड अगाडि

काठमाडौं । हालैको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ ले सरकारसँग सहकार्य गर्ने भएको छ। लायन्सले तत्काल राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापनामा समेत सहयोग गर्ने योजना अघि सारेको हो।

मल्टिपल काउन्सिल अध्यक्ष लायन केशरबहादुर भण्डारीको पहलमा लायन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरिसकेको जनाएको छ। तर, राहत अभियानलाई त्यतिमै सीमित नराखी थप रकम प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ।

लायन्सका अनुसार मल्टिपल डिष्ट्रिक्टअन्तर्गत रहेका १५ वटा डिष्ट्रिक्टबाट कम्तीमा १ करोड रुपैयाँ थप संकलन गरिनेछ। प्रत्येक डिष्ट्रिक्टले न्यूनतम ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ संकलन गर्ने निर्णयअनुसार विभिन्न डिष्ट्रिक्टले रकम जुटाउन थालेका छन्। यसैक्रममा डिष्ट्रिक्ट ३२५ एफले उक्त रकम मल्टिपल डिष्ट्रिक्टको खातामा जम्मा गरिसकेको छ।

संकलित रकम बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा परिचालन गरिने लायन्सले जनाएको छ। तत्कालका लागि खाना, त्रिपाल, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री वितरणसँगै उद्धार र अस्थायी आवास व्यवस्थापनमा समेत स्थानीय संयन्त्रसँग समन्वय भइरहेको छ।

त्यसैगरी, राहत तथा पुनर्निर्माणका लागि २ लाख अमेरिकी डलर बराबरको थप सहयोग स्वीकृत भइसकेको लायन्सले जनाएको छ। सरकारको प्राथमिकताअनुसार प्रभावित क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी तथा अन्य आवश्यक संरचना निर्माण र पुनर्निर्माणमा समेत सहकार्य गर्न संस्था तयार रहेको अध्यक्ष भण्डारीले बताएका छन्।

लायन्सले नेपालमा स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ। संस्थाका अनुसार नेपालमा अन्धोपन निवारण, स्वास्थ्य सेवा विस्तार, कोरोना महामारीका बेला अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण र २०७२ सालको भूकम्पपछि १८ वटा विद्यालय पुनर्निर्माण लगायतका काममा लायन्सको योगदान रहेको छ।

अध्यक्ष भण्डारीले विपद्को समयमा सरकारसँग समन्वय गर्दै प्रभावित नागरिकसम्म राहत पुर्‍याउने र आवश्यकताअनुसार पुनर्निर्माणमा समेत निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। लायन्सले तत्कालीन राहतसँगै प्रभावितको जीवन पुनः सामान्य बनाउन दीर्घकालीन पुनर्निर्माणमा समेत हातेमालो गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार