काठमाडौँ । स्विट्जरल्याण्ड मा सम्पन्न दोस्रो चरणको अप्रत्यक्ष वार्तामा इरान र संयुक्त राज्य अमेरिका बीच आणविक कार्यक्रमसम्बन्धी प्रारम्भिक समझदारी बनेको इरानले जनाएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघची ले वार्तापछि सहमतिको बाटो तय भएको बताएका छन्। विस्तृत सहमतिको मस्यौदा तयार गर्न भने केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हटाउने विषय तथा आणविक कार्यक्रमसम्बन्धी प्राविधिक पक्षमा थप छलफल गरी मस्यौदा आदान–प्रदान भएपछि तेस्रो चरणको वार्ताको मिति तय हुने बताइएको छ। हालसम्म तेस्रो चरणको वार्ताको मिति तोकिएको छैन।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले एक टेलिभिजन अन्तर्वार्तामा इरानसँगको सहमति केही हिसाबले सकारात्मक भएको बताएका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अघि सारेका कतिपय विषयमा अझै स्पष्ट सहमति नभएको संकेत गरेका छन्। उनले अमेरिकाले कूटनीतिक समाधान चाहेको भए पनि ‘सबै विकल्प टेबुलमै रहेको’ बताएका छन्।
इरानका राष्ट्रपति मसोउद पेजेश्कियान ले आफ्नो देशले आणविक हतियार नखोजिरहेको दोहोर्याउँदै अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि खुला रहेको बताएका छन्। इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ।
यसैबीच संयुक्त राष्ट्रसंघ का महासचिव एन्टोनियो गुटेरेस ले वार्ताको स्वागत गर्दै निरन्तर कूटनीतिक पहलले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा व्यक्त गरेका छन्। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई ले वार्ताको परिणाम पूर्वनिर्धारित गर्न खोज्नु गलत हुने चेतावनी दिँदै अमेरिकाले बल प्रयोगको धम्की त्याग्नुपर्ने बताएका छन्।
विश्लेषकहरूका अनुसार प्रारम्भिक सहमति सकारात्मक संकेत भए पनि आणविक समृद्धीकरण, क्षेप्यास्त्र कार्यक्रम, निरीक्षणको दायरा तथा प्रतिबन्ध फुकुवाजस्ता विषयमा अझै ठूलो मतभेद कायमै छ। दुबै पक्षले विस्तृत प्रस्ताव आउँदो दुई हप्ताभित्र प्रस्तुत गर्ने संकेत दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्