बाजुराको बुढीगंगा नदी थुनिँदै, साँफे मार्तडी सडक खण्डमा खतरा मोल्दै यात्रा गर्न बाध्य

साँफे–मार्तडी सडकखण्ड
Ad
  • कालोपाटी सम्बाददाता

वर्षातको सुरुवातसँगै बाजुराको बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिका बिचमा रहेको द्धवारीमा बुढीगंगा नदी थुनिने खतरामा रहेको छ। वर्षातसँगै बुढीगंगा नदीमा पानी गएकाले र त्रिवेणी नगरपालिका– ९ पैमा गाँउको पुछारबाट पहिरो झर्न सुरु भएपछि नदी थुनिन लागेको हो। 

दुई वर्षदेखि उब्त ठाँउमा पहिरो बग्न थालेको स्थानीय बताउँछन्। जसका कारण हिउँदको समयमा नदीको केही भाग थुनिएको उनीहरुले बताए।  लगातार पहिरो बढदै गएको र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जति बेलापनि नदी थुनिन सक्ने खतरा रहेको त्रिवेणी नगरपालिकाले जनाएको छ।  

नदी थुनिन सुरु भएसँगै नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे–मार्तडी सडकखण्ड उच्च जोखिममा रहेको छ। ‘साँफे–मार्तडी सडकखण्ड प्रत्येक वर्षातमा अवरोध हुने गरेको छ। उताबाट पहिरोका कारण नदी झन साँघुरो हुँदैछ’ खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैशी भन्छन, ‘अर्को भागमा नदीले कटान गर्दै गएपछि जुनसुकै बेलापनि साँफे–मार्तडी सडक बन्द हुनसक्छ।  आफुले पटक–पटक राज्यलाई जानकारी गराएपनि सडक व्यवस्थापन र थुनिएको नदी खुलाउन कसैले ध्यान नदिएको उनले बताए। 

नदी थुनिने खतरासँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायतका स्थान समेत जोखिममा रहेका छन्। साथै पहिरो आउने स्थानसँगै जोडिएको गाँउ पैमा पनि जोखिममा रहेको स्थानीय भानुभक्त जैशीले बताए। ‘खेतियोग्य जमिन सबै गएको वर्ष पहिरोले बगाइसकेको छ, आजभोली वर्षात मात्र नभई हिउँदका बेलापनि पहिरो बग्दै आएको छ।’ उनले भने। 

उता प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने थुनिएको नदी खोल्नका लागि सिँचाइ कार्यालयलाई जानकारी गरेको बताएका छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्