बुधबारमात्रै थपिए नेपालमा ११४ संक्रमित, कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १८३ पुग्यो

विकास देवकोटा
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १४ ।
बुधबार थप एक सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

बुधबार पुष्ठि भएका ११४ सक्रमितमध्ये धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो । धरानमा कोरोना पुष्टि भएका आठजना सप्तरी बोडे बसाइ नगरपालिकाका हुन् । उनीहरु १८ देखि ५६ वर्षका पुरुष हुन् । सप्तरीकै बालनविभुल गाउँपालिका अन्य दुईजना १७ वर्षीय महिला, २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । सप्तरीकै अर्का २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी विराटनगरस्थित कोसी कोरोना अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुमध्ये झापा गौरादह नगरपालिका दुईजना २६ र ४१ वर्षीय पुरुष छन् । झापाकै कचनकवलका दुई जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै हेटौंडा किटजन्य प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुमध्ये एकजना हेटौंडाकै हुन् । अन्य सातजना रौतहट, गढीमाई नगरपालिका हुन् ।

पोखराको प्रादेशीक प्रयोगशालामा भएको परीक्षणमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ भने दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १८ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु रुकुमपूर्व र दाङका हुन् । त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु सबै बाँकेका हुन् ।

त्यसैगरी राष्ट्रिय प्रयोगशालामा ३८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सिरहा, सप्तरी, बारा, रौतहटका छन् । योसँगै संक्रमितको संख्या कुल आठ सय ८६ पुगेको हो । जसमध्ये पुरुष सात सय ९६ र महिला ९० जना छन् । मन्त्रालयका अनुसार अहिलेसम्म ४७ जिल्लामा संक्रमण फैलिएको छ । बुधबारसम्म एक सय ८३ जना निको भएका छन् भने अरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मंगलबार साँझ र बुधबार गरेर २८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिलेसम्म नेपालमा कोरोनाकै कारण चार जनाको मृत्यु भइसकेको छ । सरकारले परीक्षणको दायर बढाउँदै सातै प्रदेशका २० अस्पतालमा पीसीआर परीक्षण गरिरहेको छ भने देशभर आरडीटी विधिबाट व्यापक परीक्षण भइरहेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडीटी विधिबाट एक लाख दुई सय ८७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार पाँचसय २५ र आरडीटी दुई हजार तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ७० हजार तीन सय ५ जना क्वारेन्टाइन र ६ सय ९९ जना आइसोलेसनमा मा छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्