फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम, सेवाग्राही मर्कामा

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन सकिँदैन । अस्पतालको फार्मेसी व्यवस्थित हुन नसक्दा यो समस्या आएको हो ।

एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई व्यवस्थापनको जिम्मा दिनुपर्ने भन्दै आन्दोलन नै भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल ४१९ प्रकारका औषधि मात्रै रहेका छन् । उहाँका अनुसार साउन ६ गते फार्मेसीको स्टोरमा बीमाका औषधि २४४ प्रकारका मात्र रहेका थिए । अहिले औषधि विस्तारै बढाउँदै लगिएको हो ।

अस्पतालले औषधिको माग पूर्तिका लागि गत माघ मसान्तमा ९२२ प्रकारका औषधि र २६९ प्रकारका सर्जिकल सामग्रीको ठेक्का सम्झौता गरेको थियो । औषधि ल्याउनका लागि १० वटा संस्था र सर्जिकल सामान ल्याउन छवटा संस्थासँग सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि ठेकेदारले औषधि समयमा ल्याउन नसक्दा समस्या आएको फार्मेसीका एक कर्मचारी बताउँछन् । उहाँका अनुसार अहिले फार्मेसी स्टोरले ६०० प्रकारका औषधि माग गरिरहेको छ । माग गरिएका औषधि ४५ प्रतिशत मात्रै आउँदा बिरामीले पाउन नसकेको उहाँको भनाइ छ ।

अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार समयमा औषधि नल्याउने ठेकेदार कम्पनीलाई आदेश गरेको समयभित्र नल्याएको भन्दै पत्राचारसमेत गरिएको छ । ठेक्का साकार गरेर समयमा औषधि नल्याउने महेश मेडिसिन, मेडसेन्स फर्मा, सागर मेडिकल हल, डिजिटल फार्मेसी, पायनियर मेडिसिन स्टोर्स, मेडिक्राफ्ट हेल्थ इनोभेसनलाई ताकेता गरिएको उहाँले जानकारी दिनुभयो ।

इनोभेसन सर्जिकल सामग्री ल्याउने संस्था हो । बीमामार्फत औषधि पाइने भन्दै लामो लाइनमा बस्ने सेवाग्राही काउन्टरमा पुुग्दा औषधि नपाएपछि रित्तो हात फर्किनुपरेको छ । अस्पतालको मुख्य आम्दानीको स्रोत बनेको बीमा कार्यक्रमप्रति ध्यान नदिँदा अस्पतालको आम्दानी मात्रै गुमेको छैन, सेवाग्राही प्रत्यक्षरुपमा मर्कामा परेका छन् । पछिल्लो समय मेडिकल सुपरिटेन्डेन्ट स्थायित्व नहुँदा अस्पतालका सबै विभाग कमजोर बन्दै गएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले फार्मेसीमा आवश्यक औषधि व्यवस्था गर्न भनिएको भए पनि हुन नसकेको स्वीकार्नुुभयो । के कति कारणले हुन नसकेको हो अनुुगमन गरिने उहाँको भनाइ छ । यो सङ्घीय अस्पताल हो । छ सय शय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्