मनाङमा बाढीपहिरोले पुर्याएको क्षतिको प्रतिवेदन बुझाइयो

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीमा ठूलो मात्रामा क्षति पुर्याएको छ। बाढीपहिराले पुर्याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ।

सङ्कलित क्षतिको विवरण सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको हो। बाढीपहिराले क्षति पुर्याएको साढे दुई महिना पुग्न लाग्दा प्रतिवेदन तयार भएको छ। डिभिजनले बाढीपहिराको कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणको वास्तविक लागत अनुमान तयार गर्नाका साथै सिँचाइको सम्भावनासहित तयार गरेको प्रतिवेदन बुझाएको छ।

सिँचाइ डिभिजनले तयार पारेको प्रतिवेदन ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशलाई बुझाएको डिभिजन प्रमुख ढाकाराम आचार्यले जानकारी दिए। ‘एक दिनको बाढीपहिराले धेरै क्षति पुर्यायो, तर विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो ।’

गत असार १ गतेपछि पनि वर्षा हुन कम नहुँदा बाढी आउने क्रम जारी रह्यो। मनसुन वर्षा रोकिएपछि मस्र्याङ्दी नदीमा बाढी आइरहँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो। सिँचाइ तथा खानेपानीका मुहान तथा भौतिक संरचनाको नदी कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन सम्भाव्यता समाधानका लागि सम्बोधन गराउने प्रयत्नमा रहेको उनले बताए।

बाढीपहिराबाट बढी प्रभावित क्षेत्र नासों गाउँपालिकाका तालबजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप, दानाक्यू, चामे गाउँपालिकाको तिमाङ, थान्चोक, कोतो, चामे बजार र ङिस्याङ गाउँपालिकाको भ्राताङ, पिसाङसम्मका बस्ती, विद्यालय, सार्वजनिकस्थल, पूर्वाधारका संरचनालगायतका खानेपानी, सिंचाइको क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन तथा दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको छ।

ऊर्जातर्फ बाढीपहिराले नासों गाउँपालिकाअन्तर्गत डोना खोला लघुजलविद्युत् आयोजना धारापानी, ग्वा खोला लघुजलविद्युत् आयोजना तिल्चे, सदरमुकाम चामे गाउँपालिकाको स्यार्कु खोला लघुजलविद्युत आयोजना, चामे लघुजलविद्युत् आयोजना र ङिस्याङ गाउँपालिकाअन्तर्गत सब्जे खोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ।

नासों र चामेको लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको छ भने ङिस्याङको लघुजलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक, फोर वे पूर्णरुपमा क्षति भएको छ। भरखर मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण मनाङको जनताका लागि आधारभूत ऊर्जाको स्रोत नै लघुजलविद्युत् रहेको हुँदा मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञको टोली तुरुन्त उक्त क्षेत्रमा परिचालित गरी लागत र सम्भाव्यता अध्ययन गरिएको तथा सोही बमोजिम सुचारु गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ।

खानेपानीतर्फ नासों गाउँपालिकाअन्तर्गतको थोंचे खानेपानी आयोजना, घेलान्चोक ओडार खानेपानी आयोजना, धारापानी खानेपानी आयोजना र नाचे खानेपानी आयोजना, चामे गाउँपालिकाअन्तर्गत थान्चोक खानेपानी आयोजना, वृहत चामे खानेपानी आयोजनामा क्षति पुगेर मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदनमा जनाइएको छ। ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खानेपानी आयोजना, घ्यारु खानेपानी आयोजना, खाङ्सार खानेपानी आयोजना र ढिकुरपोखरी खानेपानी आयोजना पूर्ण क्षति भएको छ।

त्यस्तै सिँचाइतर्फ खाङ्सार सिँचाइ योजना, ताचै सिँचाइ योजना, क्युपार सिँचाइ योजना, भ्राताङ सिँचाइ योजना, सब्जे र क्युबेँशी सिँचाइ योजनामा बाढीले क्षति पुगेको जनाएको छ। यी योजनाको मर्मत तथा सम्भार पुनःनिर्माणका लागि मन्त्रालयलाई जानकारी गराइ आग्रह गरिएको छ। -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्