रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, चार करोड बढी रकम विनियोजन

Ad
  • कालोपाटी सम्बाददाता

सेनकालीन इतिहाससँग जोडिएको रुद्रपुरगढीसहित आसपासका क्षेत्र समेटेर पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । नवलपरासी (बर्दघाट) सुस्तापूर्वनवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने रुद्रपुरगढीसहितका यस आसपासका क्षेत्रलाई समेटी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष चार करोड बढी रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । सङ्घीय सरकारको दुई करोड आठ लाख र गाउँपालिकाको दुई करोड आठ लाख गरी रुद्रपुरगढी पर्यटकीय विकास कार्यक्रमका लागि चार करोड १६ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सेनकालीन इतिहाससँग जोडिएको रुद्रपुरगढीसहित हुरहुरेमा रहेको गोलपोखरी शान्तिपार्कको विकासका लागि यसअघि नै योजना अगाडि बढाएको थियो । सानो रकमले योजना पूरा गर्नसक्ने अवस्था नरहेकाले गाउँपालिकाले सङ्घीय सरकारसँग रकम माग गरेर यस वर्षदेखि कार्यक्रम सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

रुद्रपुरगढीमा सेनकालीन राजाको दरबारका भग्नावशेष सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो, सेनाले परेड खेल्ने टुँडिखेल, सुरुङलगायत छन् । ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको विकाससँगै प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसबाट गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने भएकाले गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको पाण्डेले बताउनुभयो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)तयार गरेर कार्यअघि बढाइने उहाँको भनाइ छ ।

यस्तै रुद्रपुरगढीमै प्रदेशस्तरीय हिल स्टेशनसमेत निर्माण गर्न प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । चौतर्फी रुपमा पर्यटनको विकास गर्न हिल स्टेशन निर्माणको योजना अगाडि सारिएको अध्यक्ष पाण्डेले बताउनुभयो । हिल स्टेशनमा आर्कषक बगैँचा, भ्यु टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट, खेलका पूर्वाधारलगायतका भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।

पर्यटन बोर्डले हिल स्टेशनको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरेर भर्खर फर्किएको पाण्डेले जानकारी दिनुभयो । हिल स्टेशनको निर्माणको लागि पर्यटन बोर्डले ४७ करोडे बजेट प्रस्ताव गरेको उहाँले बताउनुभयो । रुद्रपुरगढी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताउनुभयो ।

गाउँपालिकाले प्रत्यक वर्ष रुद्रपुर गढी र आसपासको क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको उहाँले बताउनुभयो । रुद्रपुरगढीमा पदमार्ग विस्तार, गोलपोखरी शान्तिपार्कमा विभिन्न संरचना निर्माण, लालीगुराँस संरक्षित क्षेत्रलगायतका काम भइरहेको उहाँले जानकारी दिनुभयो । यसबाट नवलपुरको पहाडी क्षेत्रको पर्यटनको माध्यमबाट विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।

“रुद्रपुरसहितका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने काम गरिरहेका छौं, यसले पर्यटनमा आश्रित व्यवसाय बढदै जाने र यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारमासमेत सहयोग पुग्ने विश्वास छ”, प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्