एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट ’ : सञ्चालनको अन्तिम तयारी

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ ।

रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा निर्माण गरिएको हो । हालसम्म रु ७५ करोड लगानी भइसकेको जनाउँदै उहाँले सबै काम सम्पन्न गर्दा रु एक अर्ब हाराहानी खर्च हुने बताउनुभयो ।

रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन् । यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत रहने जनाइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको उहाँले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा र सुविधासम्पन्न यी भिल्लामा अत्याधुनिक सुविधा रहेको छ ।” एउटै भिल्लाको एक दिनको एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

रिसोर्टमा अन्य ५२ कोठा छन् । पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन् । रेष्टुरेन्टमा ५०० ले एकपटक बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ । होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ भने पौडीपोखरी, क्यासिनो र होटलको बीचमा रहेको छ ।

बगैँचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा १० कठ्ठा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्था गरिएको छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने जनाइएको छ । उहाँले भन्नुभयो, “जिल्लाको सबैभन्दा धेरै लगानीमा खुलेको सुविधासम्पन्न रिसोर्ट हो ।”

रिसोर्टमा १०४ अट्ने क्षमता छ । मुख्यरूपमा विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । यस रिसोर्टका सञ्चालकसमेत रहनुभएका भरतपुर महानगरपालिका-२२ का वडाध्यक्ष विष्णु महतोले आफ्नो वडामा छवटा सुविधासम्पन्न होटल पुगेको बताउनुभयो । ती होटलमा रु पाँच अर्बभन्दा बढी लगानी भएको उहाँको अनुमान छ । ठूला होटलमा मात्रै ३०० जनाको क्षमता रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको यस क्षेत्रमा २५ साना होटल छन् । जहाँ थप ३०० जनाको क्षमता छ । उहाँले रिसोर्ट बनेसँगै यस क्षेत्रमा ठूला कार्यक्रमसमेत सञ्चालन गर्न सकिने बताउनुभयो । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउन सकिने उहाँको भनाइ छ ।

यससँगै यहाँ आउने पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उहाँले बताउनुभयो । पटिहानी क्षेत्रमा होटल थपिएसँगै त्यहाँको महत्व अरु बढेर गएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष महतोले भन्नुभयो, “स्थानीयवासीले रोजगारी र साना व्यवसाय गर्ने अवसर पाएका छन् । भौतिक विकासमा पनि टेवा पुगेको छ ।”-रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्