तटबन्ध कार्यालय कर्मचारीविहीन, सेवाग्राही मर्कामा

Ad
  • कालोपाटी सम्बाददाता

जलेश्वर  । महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय-२ कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावमा कार्यालयको काम कारवाही प्रभावित भएको छ । कार्यालयमा प्रमुख, तीन इञ्जिनीयर, तीन सव इञ्जिनीयर, एक लेखापाल र चार जना कार्यालय सहयोगी कार्यरत छन् । गत असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन् ।

कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाडौमै बस्नुहुन्छ भने उहाँको अनुपस्थितिमा अनिवार्य रुपमा कार्यालयमा हुनुपर्ने सूचना अधिकारी इञ्जिनीयर सुशील चौधरी पनि गत असारपछि आफ्नो घर जनकपुरमै बसिरहनुभएको बताइएको छ ।

सो कार्यालय अहिले तीन जना कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् । जिल्लामा बाढी आएपछि सो कार्यालयमा कार्यरत कर्मचारीको खोजीनीति सुरु भएको छ । विगत १० दिनमा महोत्तरी जिल्लाको रातो नदीमा ठूलो बाढी आएर सो कार्यालयले निर्माण गरेको तटबन्ध भत्काएर जिल्लाको बलवा नगरपालिका-४ को तिलगढ, रौजा र वडा नं ११ अधियानपुर गाउँका एक हजार बढी घर डुबानमा परेर लाखौंको क्षति भएको छ भने सयौं बिघा धानखेती नष्ट भएको छ ।

अख्तियारप्राप्त कर्मचारी नहुँदा सेवाग्राहीको काम गर्न समस्या भएको त्यहाँ कार्यरत कार्यालय सहयोगीको भनाइ छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले कार्यालयमा कर्मचारी उपस्थित नहुनु गलत भएको बताउँदै त्यस्तो रहेछ भने आफूले कार्यालय निरीक्षण गर्ने र यस सम्बन्धमा कार्यालय प्रमुखसंग पनि जानकारी लिने बताउनुभयो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्