थप तीन एमाले प्रदेशसभा सदस्यले नयाँ पार्टीमा गराए सनाखत

Ad
  • कालोपाटी सम्बाददाता

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आज सनाखत गराएका छन् ।

एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारालामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका हुन् ।

सोडारी र तामाङ क्रमशःनेकपा एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष हुनुहुन्थ्यो । योसँगै नेकपा एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेशसभा सदस्य १३ जना पुगेका छन् । प्रदेशसभामा अब नेकपा एमाले १२ जनामा सीमित भएको छ ।

प्रदेशसभामा सभामुखसहित २५ जना सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना सदस्य छन् । प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ जना सदस्य छन् ।

यसअघि नेकपा (एमाले)का प्रदेशसभा सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्य मन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउँद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउँद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराएका थिए  । आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी र पूर्वमन्त्री माया भट्ट नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन् । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्