सीमानाका बन्द हुँदा याकका सङ्ख्यामा वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

पछिल्लो समय ताप्लेजुङमा याकका सङ्ख्यामा वृद्धि भएको छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्खौली पेसाका रुपमा यसलाई पालन गर्दै आएका छन् । पछिल्लो दुईवर्षदेखि याकको कोरोनाका कारणले चीनतर्फ निर्यात भएको छैन । सीमानाका बन्द भएसँगै यसका सङ्ख्यामा वृद्धि भएको बताइएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्ष अगाडि ३२ याक थियो । अहिले उहाँसँग ६४ छन् । उहाँले भन्नुभयो, “दुई वर्ष भयो ,याक बिक्री भएको छैन । कोरोनाका कारणले चीनसँगको नाका बन्द छ ।” यसैगरी फिन्चो शेर्पाले गोठबाट दुई वर्षदेखि याक बिक्री नभएको बताए । उनीसंग अहिले ४० याक छ । याकको पोथीलाई ‘डी’ र भालेलाई ‘याक’ भन्नेर छुट्याउने गरेको उहाँले जानकारी दिनुभयो ।

समुद्र सतहदेखि तीन हजर ५०० मिटर उचाइदेखि पाँच हजारसम्मको उचाइमा याक र डीको चरन क्षेत्र मानिन्छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घाका फेदीमा याक गोठ पाइन्छ । याक विगतदेखिनै चीनको भिन्न बजारमा बिक्री हँुदै आएको याङमाका स्थानीय टाँसी फिन्जो शेर्पाले जानकारी दिए ।

कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा याङमा ४००, ओलाचुङगोला ४३५ र घुन्सा ३६ गरी ८७१ याकको बीमासमेत गरिएको छ । परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बीमालाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताए । चीनका विभिन्न विभिविन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौरी याकबाट उत्पादित छुर्पी, घ्यू साथै पशुजन्य बस्तु चीनका बजारमा उचित मूल्यमा बिक्री हुने गरेको याङमाका स्थानीयवासी सोनाम शेर्पाले बताए ।

चीनका बजारमा प्रतियाक रु ६० हजारदेखि एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको स्यानीयवासीको भनाइे छ । छुर्पी र घ्यू प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुने गरेको याङमाका फिम्जो शेर्पाले बताए । कोरोनाका कारणले दुई वर्षयता टिप्ताला नाका र सङ्खरसभा जिल्लाको किमाथाङका नाका बन्द हुँदा याक दुई वर्षयता बिक्री नभएको मिक्वाखोला गाउँपालिका–५ पापुङका याक व्यवसायी रिङ शेर्पाले बताए ।

मिक्वाखोला–५ तोक्पेगोला क्षेत्रमा रहेको याक चौरी लायक पशुजन्य बस्तु सङ्खरसभाको किमाथाङका नाका हँदै चीका विभिन्न बजारमा बिक्री हुने गरेको उहाँको भनाइ छ । तोक्पेकोला क्षेत्रमा ३५ चौरी याकका गोठ रहेको मिक्वाखोला–५ पापुङका वडाध्यक्ष डण्डु लामाले जानकारी दिए । तोक्पेखोला क्षेत्रमा दुई हजारभन्दा बढी याकको सङ्ख्या रहेको उहाँले बताए । जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिकाबाहेक सात पालिकामा चौरी याकपालन गर्दै आएको छ । उचित मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याकपालनतर्फ आकर्षित हुने गरेको फक्ताङलुङ –६ घुन्साका स्थानीयवासी पेमा शेर्पाले बताए । हिमाली क्षेत्रमा याकको उल्लेखनीय सङ्ख्यामा वृद्धि हुँदै गएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्