मुस्ताङमा पनि सुचारु भयो ‘थ्रीजी’ सेवा

Ad
  • कालोपाटी सम्बाददाता

मुस्ताङ । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारीदिनुभयो । उहाँका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टुजी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्रीजी’ सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

यसैगरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बिटिएस टावर जडान गरिएको छ । टुजी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिनुभयो । “मुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्रीजी सेवाले मात्रै उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस पाउँछन्”, उहाँले भन्नुभयो, “ मुस्ताङका सबै गाउँ कभर हुने गरी नेटर्वक विस्तार भएकाले अब समस्या हुँदैन ।”

मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा समान्य विद्युत्को पोलमा बिटिएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जनाएको छ । धेयगाउँको टावरमा सौर्यऊर्जा जडान भएपछि विद्युत् नभएको बेलामा समेत उपल्लो मुस्ताङमा सञ्चार सेवा अबरुद्ध नहुने प्रमुख शर्माले बताउनुभयो ।

बागलुङका सबै गाउँमा फोरजी तयारी

टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फोरजी सेवा पुग्ने गरी बिटिएस टावरको स्तरोन्नति थालेको हो ।

“अहिले दमेक, अर्गल, राङ्खानी, पातिहाल्ने र जलजलाको टावर स्तरोन्नतिको काम भइरहेको छ”, प्रमुख शर्माले भन्नुभयोे, “दशैँसम्ममा पाँचवटै टावरको काम सकिन्छ, त्यसपछि लगभग जिल्लाभरि नै फोरजी सेवा उपलब्ध हुन्छ ।”-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्