काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गएको भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चर्किएपछि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ । सभापति देउवा इतर समूहले २५ गते गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको भन्दै त्यसलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई चेतावनी दिएको भोलिपल्ट शुक्रबार सभापति देउवाले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरु डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सभागी रहेको बालुवाटार निकट स्रोतले जनायो ।