भक्तपुरमा कांग्रेस अधिवेशनको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेस भक्तपुर जिल्लाको नगर अधिवेशन आउन चार दिन बाँकी रहँदा यहाँ अधिवेशनको चहलपहल सुरु भएको छ । आगामी ९ गतेबाट यहाँका चार वटा नगरपालिकामा हुने कांग्रेस अधिवेशनमा नगर सभापतिको आकांक्षी बढेपछि निर्वाचन हुने पनि पक्का भएको देखिएको छ ।

जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलादेखि प्रकाशमान सिंहको टिमबाटसमेत उम्मेदवारी दिने गरी नगरसभापतिको आकांक्षी बढेपछि नगर अधिवेशन सर्वसम्मत नेतृत्व चयनको सम्भावना नरहेको बताइएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले ९ गते चारवटै नगरपालिकामा सुरु हुने अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताए । यद्यपि आकांक्षी धेरै देखिएकाले सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा १० गते प्रजातान्त्रिक पद्दतिअनुरुप निर्वाचनबाट नेतृत्व चयन गर्ने बताए ।

नेपाली कांग्रेसले जिल्लाका ३८ वटा वडाको अधिवेशन सम्पन्न गरेसँगै नगर अधिवेशनमा नेतृत्व हत्याउन नेताको दौडधूप तथा उम्मेदवारी घोषणाको क्रम सुरु भएको हो । नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने भएकाले समूह तथा उपसमूहमा रहेका नेता नगरको नेतृत्व आफ्नो पक्षमा पार्न छलफलमा लागेका छन् ।

जिल्ला सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागतका नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका कांग्रेस नेताको भनाइ छ ।

भक्तपुर नगरमा वर्तमान सभापति रामप्रसाद कासुला, पूर्व सभापति रवीन्द्र प्रधान, अनिल भुजु, प्रवीण लाखे, राजेन्द्र तमखु र शिव अवालले नगर सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

यता मध्यपुरथिमि नगरपालिकामा पनि सभापतिको उम्मेदवारीका लागि दौडधूप बढेको छ । यस नपामा नगर सभापतिका लागि वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ, हरिदास प्रजापति, ओम श्रेष्ठ, राम थापामगर, अनिल श्रेष्ठ, उमेश खड्काले उम्मेदवारी दिने बताएका छन्  ।

सूर्यविनायक नगर समितिको नेतृत्वका लागि दुई वटा समूहले प्यानलै उम्मेदवारी घोषणा गरेर प्रचारमा लागिसकेका छन् । जिल्ला सभापति दुर्लभ थापाको पक्षबाट जिल्ला सचिव निशान ढुङ्गेल र सूर्यविनायक नगर समितिका वर्तमान् उपसभापति रवि राणाले प्यानल नै घोषणा गरी प्रचारमा लागेका छन्  ।

ढुङ्गेल नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढङ्गाना र सुरेश केसी तथा क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतको प्यानल प्रतिस्पर्धामा उत्रिएको छ । राणा नेतृत्वमा भने उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामे प्रतिष्पर्धामा उत्रिएका छन् ।

यता चाँगुनारायण नगर सभापतिमा वर्तमान् सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला उपमन्त्री शिवहरि केसी र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति एवं पूर्वकेन्द्रीय सदस्य मनोजकुमार थापाले उम्मेदवारी दिने बताएका छन्  । नगर सभापतिमा यादवप्रसाद अधिकारी, उद्धव खड्का र उमेश खड्काले पनि उम्मेदवारी दिने बताएका  छन् ।
–––

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्