जनगणनाका लागि जुम्लामा ४१ सुपरिवेक्षक परिचालन

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । राष्ट्रिय जनगणना- २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सो सङ्ख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना-२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्याङ्क कार्यालय जुम्लाका खरिदार कमला योगीले बताए ।

“पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौँ”,उनले भने । आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकरण कार्य गर्नेछन् । यस अवधिमा सुपरिवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको तथ्याङ्क सङ्कलन गर्नेछन् ।

पहिलो चरणको कार्य सकिएपछि गणकको छनोट प्रक्रिया हुने खरिदार योगीले बताए । गणक छनोट गरेर उनीहरुलाई आगामी कात्तिक १३ देखि १६ सम्म तालिम सञ्चालन गरिनेछ । जिल्लामा तथ्याङ्क सङ्कलन दुई चरणमा सञ्चालन गरिनेछ । आगामी असोज १८ र दोस्रो चरणमा आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म सञ्चालन हुन्छ । दोस्रो चरण मूलगणना गर्ने कार्य हो ।

दोस्रो चरणमा गणकमार्फत् प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायत विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत स्रोतसाधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने तथ्याङ्क कार्यालय जुम्लाले जनाएको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्