डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न सरकारलाई निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मिर्गौला पिडीतको समस्यालाई गम्भीरताका साथ लिदै डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गरि सहज रुपमा सेवा दिने व्यस्था गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले डायलाइसिस र मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ भने मृगौला सम्बन्धी छुट्टै अस्पताल निर्माणका लागि पनि सरकारलाई सुझाव दिएको छ । बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौला पिडीतको समस्यालाई सरकारले गम्भीरताका लिएको र निशुल्क उपचारलाई प्रभावकारी बनाउन सरकारको ध्यान केन्द्रीत रहेको बताए ।

जिल्ला र प्रदेशमा नै डायलाइसिस र मिर्गौला प्रत्यारोपण सेवालाई विस्तार गर्ने सरकारको योजना रहेको उहाको भनाई छ । मन्त्री श्रेष्ठले भारतबाट पनि डायलाइसिस मेसिन दिने प्रतिवद्धता प्राप्त भएको बताए । त्यस्तै उहाले नेपालमा १ करोड ७७ लाख कोरोनाबिरुद्धको खोप आइसकेको र तीन करोड खोप आउने जानकारी दिनुभयो । उहाले ५६ लाख जनतालाई पूर्ण खोप लगाइएको बताए ।

बैठकमा सांसदहरुले अस्पतालमा डायलिसिस गर्दा बिरामीलाई आर्थिक मर्कामा पारिएको गुनासो आएको बताएका थिए । सांसद खगराज अधिकारीले डायलाइसिस मेसिन कम हुँदा बिरामीलाई कुर्न पर्ने अवस्था आएको र डायलाइसिस गर्न आएका बिरामीका कुरुवालाई पनि बिशेष व्यवस्था हुनुपर्ने धारणा राखे । त्यस्तै सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री सञ्जय यादवले डायलिसिस गर्नुभन्दा पहिले पनि खर्च लाग्ने भन्दै यसमा पनि बिशेष व्यवस्था हुनुपर्ने बताए ।

 

बैठकले मृगौला तथा क्यान्सरबिरुद्धको जनचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्न पनि पनि सरकारलाई सुझाव दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्