‘लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध छ’ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन् ।

सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा भर्चुअल माध्यमबाट उनले भने, “हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो । कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन ।”

वरिष्ठ नेता पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने पनि बताए । कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले पार्टीभित्र गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिए । विसं २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको सो भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ । कूल एक करोड ४७ लाखको लागतमा सो भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि विभिन्न सङ्घ संस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम सङ्कलन गरिएको छ । सङ्कलित रकममध्ये रु ६५ लाख बचत भएको र यसलाई अक्षय कोषमा राखिने उनले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्