राष्ट्रसङ्घ नेपालका प्रमुखलाइ के भने मुख्यमन्त्री पोखरेललले ?

Ad
  • कालोपाटी सम्बाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आज पोखरामा औपचारिक भेटवार्ता भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा नेपाल आउनुभएकी साराले मुख्यमन्त्री पोखरेलसँग उनको कार्यालयमा भेटवार्ता गरेका हुन्  ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गर्दै सुरक्षा परिषद्देखि विभिन्न समितिमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै आएको बताए ।

संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा विश्वमा शान्ति स्थापनाको सवालमा नेपालले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले राष्ट्रसङ्घकै नेतृत्वमा शान्ति, स्थिरता र समृद्धि हासिल हुनेमा नेपाल सदैव प्रतिबद्ध रहेको बताए । राष्ट्रसङ्घले नेपालमा मानवीय क्रियाकलापका क्षेत्रमा लैङ्गिक विकास, मानव अधिकार, दिगो विकास लक्ष्य हासिलका लागि गरेको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ छ ।

“सुशासनको प्रत्याभूति, सङ्घीयताको कार्यान्वयन र विकासका कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ”, उनले भने । कोभिडले थला परेको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न आफूहरू अग्रसर रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढङ्गबाट सम्बोधन गर्नुपर्ने धारणा राखे ।

संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख साराले दिगो आर्थिक विकास, प्रदुषणमुक्त रोजगारी आफूहरूको पहिलो प्राथमिकता रहेको बताए । “संयुक्त राष्ट्रसङ्घले पाँच वर्षका लागि विकास फ्रेमवर्क बनाउँदैछ, प्रदेशले निर्धारण गरेका प्राथमिकतालाई त्यसमा समावेश गरेर हामीले अगाडि बढाउने छौँ”, उनले भने ।

दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्रसङ्घले अझै सघाउने उहाँले प्रतिबद्धता व्यक्त गरे । भेटमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले र प्रमुख सचिव डा दामोदर रेग्मीले प्रदेशका प्राथमिकता र राष्ट्रसङ्घको भूमिकाका सम्बन्धमा प्रकाश परे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्