पाँचथरका तीन पालिकामा कांग्रेसको नेतृत्व चयन

Ad
  • कालोपाटी सम्बाददाता

पाँचथर । पाँचथरका आठ स्थानीय तहमध्ये नेपाली कांग्रेसले तीन स्थानमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ । बाँकी पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व छनोट भएको छ । जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा कांग्रेसले मतदानमार्फत नेतृत्व चयन गरेको हो । चौध वडा रहेको फिदिम नगरपालिकाको सभापति पदमा फिदिम-४ का वडाध्यक्ष प्रकाश गुरुङ र केशव नेम्वाङको समूहबीच चुनावी प्रतिस्पर्धा भएको थियो । दुई सय ६१ क्षेत्रीय प्रतिनिधि रहेकामा २६० ले मतदानमा भाग लिएका थिए । नगर कार्यसमितिको सभापतिमा वडाध्यक्ष गुरुङ १४९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेम्वाङले १०८ मत प्राप्त गर्नुभएको छ ।

फिदिम नगरकार्यसमितिको उपसभापतिमा बालकृष्ण लावती र सुकपाल तुम्बापो विजयी हुनुभएको छ । उहाँहरुले समान १३७ मत प्राप्त गर्नुभएको छ । उपसभापतिका अर्का उम्मेदवार श्रीप्रसाद घिमिरेले १३२ मत प्राप्त गर्नुभयो । सचिवमा नरेन्द्र गुरुङ र अविनाश भट्टराई, सहसचिवमा नवीनकुमार तुम्बापो र कुशल राई विजयी हुनुभएको छ । नगर कार्यसमितिका सात निर्वाचित पदाधिकारीमध्ये सभापति, दुई जना उपसभापति र सचिव नरेन्द्र गुरुङ गरी चार जना वडाध्यक्ष हुनुहुन्छ ।

फाल्गुनन्द गाउँ कार्यसमितिको सभापतिमा सुकवीर नेम्वाङ विजयी हुनुभएको छ । आइतबार राति सम्पन्न मतगणना अनुसार नेम्वाङले ६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमपी चेम्जोङले ४४ मत प्राप्त गर्नुभएको छ । सात वडा रहेको फाल्गुनन्दमा कांग्रेसका १३२ जना क्षेत्रीय प्रतिनिधि रहेकामा १२२ जना मतदान प्रक्रियामा सहभागी थिए । गाउँ कार्यसमितिका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ ।

यस्तै याङ्वरक गाउँपालिकामा समेत चुनावमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । यहाँ गाउँ कार्यसमितिको सभापतिमा ५४ मत प्राप्त गर्दै शेरबहादुर नुगो सभापति निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सविन माबोले ५१ मत प्राप्त गर्नुभयो । सचिवमा रामचन्द्र ढुङ्गेल र कृष्णप्रसाद प्याकुरेल, सहसचिवमा तिलबहादुर राई र कृष्ण कोइराला विजयी हुनुभएको छ । उपसभापतिमा भने प्रेमराज काफ्ले र देउकुमार योङ्हाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

बाँकी पाँच गाउँपालिकामा सहमतिमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । सोअनुसार फालेलुङ गाउँपालिकाको सभापतिमा वीरविक्रम थाम्सुहाङ, हिलिहाङमा सन्तोष लिङ्देन, कुम्मायकमा दुर्गाप्रसाद बम्जन, तुम्बेवामा बाबुराम खड्का र मिक्लाजुङ गाउँपालिकाको सभापतिमा सन्तकुमार शेर्मा ९सन्तोष० को नेतृत्वमा सहमतिमा नयाँ कार्यसमिति गठन भएको कांग्रेस पाँचथरमा जनाएको छ । कांग्रेसले स्थानीय तहका अधिकांश पदाधिकारीमा नयाँ पुस्तालाई जिम्मेवारी दिएको छ । उनीहरुमध्ये कतिपय जनप्रतिनिधिसमेत छन् । आठमध्ये चार स्थानीय तहका सभापति वडाध्यक्ष छन् । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्