बाग्मती । आउदै गरेको दसैँलगायत चाडपर्वमा यात्रुलाई आवतजावतमा सहजता पुर्याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ ।
मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । बाराको धनसारदेखि पथलैयासम्म, मकवानपुरको हेटौँडा हुँदै लोथरसम्म र हेटौँडाको भैँसे हुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकका खाल्डाखुल्डी मर्मतसम्भारको काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय हेटौँडाको कार्य क्षेत्र मकवानपुर, बारा र पर्सा पर्दछ ।
सङ्घीय सरकारको करिब एक करोडको लागतमा सडक मर्मतको काम सुरु गरिएको सो कार्यालयले जनाएको छ । आगामी १० दिनभित्र सडक मर्मतको काम सकिने योजना रहेको कार्यालयका इञ्जिनीयर लोमश उपाध्यायले जानकारी दिए । साथै कार्यालयले अन्य सडक र पुल निमार्ण तथा मर्मतको कामसमेत जारी राखेको जनाएको छ । यसैबीच बारा र पर्सा गरी दुई जिल्लामा गत आव ०७७÷०७८ मा आठ पक्की पुल निर्माण सम्पन्न भएका छन् । त्यसमध्ये बारामा चार र पर्सामा चार पुल निर्माण भएका हुन् ।- रासस