निःशुल्क रगतले बिरामीलाई सहज

Ad
  • कालोपाटी सम्बाददाता

निःशुल्क रगत पाएपछि बिरामीलाई सहज भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जिल्लाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ ।

रेडक्रस र जिल्लाका सातैवटै स्थानीय तहबीच आफ्नो पालिकाभित्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । सोही सम्झौता अनुरुप रगत उपलब्ध गराउन थालिएको शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । “नागरिकता र अस्पतालको सिफारिसका आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएका छौँ, त्यसवापतको रकम सम्बन्धित स्थानीय तहले रेडक्रसलाई भुक्तानी गर्छन्”, उहाँले भन्नुभयो ।

 

जिल्लामा रेडक्रसले सञ्चालन गरिरहेका रक्तसञ्चार केन्द्रमा १०० प्रिन्टसम्म रगत जम्मा गर्ने क्षमता छ । जिल्लामै सबै रगत भने खपत हुँदैन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा रगत पठाउने गरिएकामा पछिल्लो समय जिल्लाकै अस्पतालमा रगतको खपत बढ्दै गएको अग्रहरीले बताउनुभयो ।

स्थानीय तह र रेडक्रसको समन्वयमा निःशुल्क रगत उपलब्ध हुन थालेपछि बिरामीको उपचारमा थप सहज भएको रामग्राम–४ का अर्जुनबहादुर क्षेत्रीले बताउनुभयो । “पहिला हामी आफैँले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था थियो, अहिले नगरपालिकाले रकम भुक्तानी गर्न थालेपछि सहज रुपमा रगत पाउन थालेका छौँ”, उहाँले भन्नुभयो ।  –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्